‘पत्रकारिता साइबर क्राइम होइन’: ठगीको पर्दाफास गर्दा पत्रकार गिरीलाई ‘साइबर क्राइम’

Share:

बिग न्यूज
पोखरा, बैशाख । पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर क्राइमको मुद्दामा कास्की प्रहरीले उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि काठमाण्डौ पठाएको छ ।

केही दिन अगाडि ‘विपिन वताशले ठगी गरेको’ भन्दै गिरीले लेखेको समाचारको आधारमा वताश परिवारबाटै प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । विपिन वताश [विपेन्द्रराज वताश]ले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौँ रुपैयाँ ठगी गरेको बेलिबिस्तारसहितको समाचार गिरी सम्पादक रहेको ताण्डव न्यूज साप्ताहिक र सोही पत्रिकाको अनलाइनमा पनि समाचार आएको थियो ।

पक्राउ परेसँगै गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन । उनले लेखेका छन,-‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधै गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’

पत्रकार गिरी पक्राउ परेसँगै पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार गिरीलाई समाचार लेखेकै भरमा पक्राउ गर्नु उचित नभएको प्रेस विज्ञप्तीमार्फत भनेका छन । ‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै गिरीको पक्राउ प्रति अन्य पत्रकार सम्बद्ध संघसंस्था र समूहले पनि आपत्ती जनाएका छन ।

कमेन्ट गर्नुहोस्
Share: