
काठमाडौं । स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्साले म्यानचेष्टर युनाईटेडलाई ३–० गोल अन्तरले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाले एक गोल गरे ।
पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो । बार्सिलोना समग्रमा ४–० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।
घरेलु मैदानमा मेस्सीले १६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा उनले बार्साको अग्रता दोब्बर पारे । काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
