बाढीले विद्युत अवरुद्ध हुँदा ३०० घरधुरीमा अन्धकार

Share:

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुई लघु जलविद्युत् आयोजनामा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ। वैशाख १ मा परेको भीषण वर्षाका कारण आएको बाढीले आयोजनामा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।

अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघु जलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला तेस्रो लघु जलविद्युत् आयोजनामा क्षति र्पुयाएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए।

दुलिलाभाटीमा चारवटा लघुजलविद्युत् आयोजना सञ्चालनमा आएकामा दुईवटामा ठूलो क्षति र्पुयाएको र दुईमा आंशिक क्षति र्पुयाएको थियो। बुढाथोकीका अनुसार सामान्य क्षति र्पुयाएको गौदिखोला पहिलो र दोस्रो लघुजलविद्युत् आयोजना सामान्य मर्मतपछि सञ्चालन भएका छन्।

बाढीले ल्याएको ढुङ्गा, गिट्टी, बालुवा र माटोलाई सफा गरेपछि मात्र यथार्थ क्षतिको विवरण आउने वडा कार्यालयले जनाएको छ। गौदिखोला तेस्रोको विद्युत् उत्पादनगृहको केही भाग नै बाढीले बगाएको छ भने चौथोको उत्पादन गृह बाढीले पुरेको स्थानीय सुमित्रा कार्कीले बताइन्।

केन्द्रीय विद्युत् विस्तार गर्न थालिएको दुदिलाभाटीमा १२ वटा केन्द्रीय प्रसारण लाइनका पोलसमेत बाढीका कारण भाँचिएकोे स्थानीय शिव सुनुवारले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: