
काठमाडौं। पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ। व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको हो।
‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन। अहिले उनीहरूको खर्च र लगानी बढ्दै गएपछि २८ रूपैयाँ कमिशन बढाएका छौं,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘यस वापत निगमले वार्षिक ९६ करोड खर्च गर्ने छ।’
उनका अनुसार सो कमिशनको कार्य आजबाट लागू भएको छ।
पहिले ग्यास व्यसायीले एक सिलिण्डर ग्यास बराबरको प्रशासकीय खर्च वापत ५२, स्थानीय ढुवानी खर्च वापत २९, उद्योगीको मुनाफा ३० र विक्रेताको ३२ रूपैयाँ कमिशन पाउँदैआएका थिए।
आजबाट ग्यास व्यवसायीको प्रशासकीय खर्चमा १३, स्थानीय ढुवानी खर्चमा ८, उद्योगीको मुनाफा २ र बिक्रेताको कमिसनमा ५.४७ रूपैयाँ (भ्याट सहित) बढेको छ।
यसअघि प्रतिसिलिन्डर कमिशन ३२ रुपैयाँ थियो। अहिले भ्याट सहित ५.४७ पैसा बढेर ३७.४७ रुपैयाँ पुगेको छ।
