दूषित पानी पिउँदा ९८ जना बिरामी

676
0
Share:

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन्।

बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिए।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ।

उक्त ठाउँमा अचानक मङ्गलबार केही मानिस सामान्य रुपमा बिरामी परेको र त्यसपछि बिस्तारै धेरै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेको थियो।

सोपश्चात् जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो।

दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको श्रेष्ठले बताए।

दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने बताए।

कमेन्ट गर्नुहोस्
Share: