विद्यार्थी कम भएपछि गाभिए तनहुँका तीन विद्यालय

Share:

दमौली । विद्यार्थी कम भएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित तीन वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ। वडा नं. ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं. ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं. ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए।

उनका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो। ‘विद्यार्थी सङ्ख्या न्यून भएका र नजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरिएको छ’, उनले भने, ‘नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो।’

समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् रहने शाखा प्रमुख पौडेलले बताए। नगरपालिकाले भिमाद नगरपालिका–७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई माथिल्लो कक्षा हटाएको छ। यसअघि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा अब कक्षा ३ सम्म पढाइ हुनेछ। नगरमा हाल ६५ सामुदायिक विद्यालय छन्।

कमेन्ट गर्नुहोस्
Share: