
तनहुँ । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।
तनहुँमा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ। आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताए ।
‘अण्डा बिक्री हुन छाडेपछि व्यावसायिक रुपमा कुखुरापालन गर्ने दुई/तीनजना व्यवसायीले पेशा नै छाडेर पलायन भइसकेका छन्’,अध्यक्ष भुजेलले भने, ‘वैशाख महीनाभरी यस्तै तरिकाले अण्डा बिक्री हुँदै जाने हो भने तनहुँका कृषकले करौँडोको घाटा ब्यहोर्नुका साथै अधिकांश कृषक यसबाट पलायन हुने अवस्थामा देखिएको छ ।’
‘तनहुँलगायत छिमेकी जिल्ला गोरखा र लमजुङमा बिक्रीका लागि अण्डा लिएर जाँदासमेत बिक्री हुन छाडेको छ’, अध्यक्ष भुजेलले भने, ‘दश लाखको लगानीमा शुरु गरेको कुखुरा पाल्न व्यवसायमा अहिले नौ करोड रुपैयाँ लगानी भइसकेको छ तर अण्डा बिक्री नहुँदा बैकको ऋण तिर्न पनि धौ धौ भएको छ ।’
उनले २४ हजार कुखुरा राखेर पाल्दै आएका छन् । कुखुरापालनबाट दैनिक २३ हजार अण्डा उत्पादन भइरहेको छ । उक्त फार्ममा १४ जना जनशक्ति रहेको बताइएको छ। जिल्लाको जनसङ्ख्याको तुलनामा चार गुणा बढी अण्डा तनहुँमा उत्पादन हुने गर्छ ।
त्यसैगरी व्यास १ गल्बुबेँसी निवासी खेमराज अधिकारीले करीब रु डेढ लाखको लगानीमा १० रोपनी क्षेत्रफलमा खोर निर्माण गरी पाँच हजार लेर्यस जातका कुखुरा पालेर व्यवसाय शुरु गरे पनि यसबाट फाइदा लिन नसकिएको बताए ।
‘अघिल्ला वर्षमा आम्दानी खर्च बराबर जस्तो भए पनि यस वर्ष झनै नसोचेअनुरुप नोक्सान ब्योर्हनु परेको छ’ उनले भने। तनहुँमा ४४ वटा कुखुरा फार्म रहेकोमा ३३ वटा तनहुँ अण्डा उत्पादक कृषक सङ्घमा आबद्ध छन् ।
मुलुकका विभिन्न जिल्लाबाट अण्डा रातको समयमा आयत हुने गरेपछि अण्डा उत्पादक कृषक सङ्घले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भेटेरिनरी अस्पताल र क्वारेन्टाइनबाट सिफारिस नभई बजारमा बिक्री वितरण हुँदै आएका अण्डा तथा कुखुरालाई नियन्त्रणमा लिन परिपत्र गरिएको जानकारी दिए । -(रासस)
