
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानुनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले विषयविज्ञबाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने धारणा राखे।
न्याय प्रणालीलाई व्यवस्थित नगरिकन सुशासन र समृद्धिको कल्पना गर्न नसकिने भन्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउने अनुभवी विषयविज्ञको आवश्यकता रहने औँल्याए।
विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था बदलिए पनि कानुन बदलिन नसक्दा जनताले परिवर्तनको महसुस गर्न नपाएको उनको भनाइ थियो।
मुलुक सङ्घीयतामा गइसक्दा पनि कानुन निर्माणकर्ताले केन्द्रिकृत तबरबाटै कानुन बनाउँदा एकल अधिकारमाथि हस्तक्षेप भएको मुख्यमन्त्री गुरुङकाे आरोप थियो।
कर्मचारी सबै सिहंदरबारमा थुपारेको र प्रदेश कर्मचारीविहीन भएको यथार्थलाई कटाक्ष गर्दै उनले सिहंदरबारमा २० हजार कर्मचारी भए पुग्नेमा ४८ हजार किन भन्दै प्रश्नसमेत गरे।
नयाँ अभ्यास भएकाले सङ्घीय सरकार र प्रदेश सरकारमा अन्तरद्वन्द्व देखिनसक्ने भन्दै यसलाई बेलैमा ध्यान दिएर अघि नबढे विकासको बाधक बन्न सक्नेतर्फसमेत ध्यान दिन मुख्यमन्त्रीले आग्रह गरे।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार, काम र योजनाको बारेमा छलफल हुननसकेको जिकिर गरे।
सङ्घीयताको मोडलबाट अघि बढ्न र बनेका ऐन कानुनको बारेमा आम नागरिकसम्म पुग्न नसक्दा कानुनका विरुद्धका गतिविधि दोहोरिरहेको उनको भनाइ थियो। (रासस)
