
पर्वत । पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो तर अस्पतालमा इमर्जेन्सी सेवा सहज छैन ।
‘इमर्जेन्सीमा मात्रै हामीलाई कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी आवश्यक छ’, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोषी थपलियाले भने, ‘अहिले एक जनाले मात्रै काम चलाइएको छ । अरु कर्मचारी मागे पनि पाइएको छैन ।’ बहिरङ्ग, ल्याब, एक्सरेलगायतसबैतिर उस्तै समस्या भएको उनले बताए ।
ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सीलगायतका सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ । थपलियाका अनुसार बिरामीले चौबीसैँ घण्टा सहज सेवा पाउने गरी सञ्चालन गर्न एउटा सेवाका लागि कम्तीमा चार कर्मचारी आवश्यक पर्छ ।
शल्यक्रिया सेवा सञ्चालन गर्न विशेषज्ञ डाक्टरका साथमा एक जना एनेस्थेसिया (बेहोस बनाउने) आवश्यक हुन्छ तर, एनेस्थेसियाको अभावमा करीब एक वर्षसम्म एक्सरे सेवा अवरुद्ध भएको थियो । एनेस्थेसिया कर्मचारीको नियुक्ति भएको केही समयमै शल्यक्रियाका दक्ष डाक्टरको सरुवा भएपछि केही समय शल्यक्रिया रोकिएको थियो ।
अस्पतालमै सञ्चालित सस्तो औषधि वितरण हुँदै आएको फार्मेसी केही महीनादेखि बन्द छ । बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादले बन्द भएको हो ।
