पर्यटकको गन्तव्य बन्यो ,कर्णाली पुल

Share:

 


कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीमाथिको आकर्षक पुल हेर्नेको घुइँचो लाग्न थालेको छ।

पुलमा सेल्फी खिच्ने लर्को नै देख्‍न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू कोही परिवारका साथमा त कोही एक्लै पनि पुलको चिसो हावामा मज्जा लिँदै सेल्फी र फोटो खिच्नमा व्यस्त हुने गर्छन्। कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्‍नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या प्रतिदिन बढ्दो छ। पुलको निर्माण कार्य विसं २०५० सालमा भएको हो।

पुल निर्माणको काम जापनिज निर्माण कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले गरेको थियो। पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अडयाइएको छ। तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको हेर्नकै लागि पर्यटक यहाँसम्म आई पुग्ने स्थानीय व्यवसायी मनोज विष्टले बताए।

५०० मिटर लम्बाइ र १० मिटर चौडाई भएको पुल निर्माणमा तीन हजार ८७० टन स्टिल प्रयोग भएको बताइएको छ। चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रूपमा रहेको छ। चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लागेको हुन्छ। कर्णाली नदीमा र्‍याफटिङ गर्ने विदेशी स्वदेशी पर्यटकको संख्यासमेत बढदो छ। कर्णाली नदी चुरे क्षेत्र हुदै तराई क्षेत्रमा प्रवेश गर्नेद्बारका रूपमासमेत चिसापानीलाई लिन सकिन्छ।

चिसापानी क्षेत्रमा पर्यटकलाई लक्षित गरी केही होटलहरू समेत खोलिएका छन्। जसमा कर्णाली नदीका स्थानीय माछाको परिकार पाइने भएकाले पनि पर्यटक माछाको स्वाद लिनकै लागि यहाँ पुग्दछन्। सुदूरपश्चिमबाट पूर्वतर्फ लाग्ने यात्रुबाहक सवारीसाधनका यात्रुलाई खाना खुवाउने ठाउँसमेत चिसापानी नै हो। चिसापानी बजारमा खाना खानका लागि ओर्लने यात्रुहरू भने पुल हेरेर मात्र फर्कंन्‌छन्।

कमेन्ट गर्नुहोस्
Share: