
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने ‘नयापुलदेखि घान्द्रुक उरीसम्म’को बाटो पिच गर्ने कार्यको आइतबार शिलान्यास कार्यक्रममा उनले अबको एक वर्ष भित्रै पोखरामा बिजुलीबाट बस सञ्चालन भइसक्ने बताए। बिजुलीबाट चल्ने गाडीको प्रवद्र्धन गर्नुका साथै पोखरा बजारको मूख्य चोकचोकमा चार्जिङ स्टेसन राखिने उनले जानकारी दिए ।
यस्तै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिए । अबको ४ वर्षभित्र स्थानिय तहका केन्द्रहरुको लिंक रोड बनाइसक्ने घोषणा गर्दै उनले त्यसलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।
