
काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा दिएइको जनाएको हो।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए।
सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।
गत वर्ष सरकारले बिदा कटाैती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाकाे माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयाेगकाे सिफारिसमा बिदा दिने निर्णय गरेकाे हाे। ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

