
एजेन्सी : बेल्जियमका विश्वचर्चित प्ले मेकर इडेन हाजार्ड इङ्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् । रियल मड्रिडले शुक्रबार इडेन हाजार्डलाई अनुबन्धको घोषणा गरेको हो।
क्रिस्टियानो रोनाल्डोले छाडेपछि गत सिजन खराब प्रदर्शन गरेको रियल मड्रिडको अग्रपंक्ति अब २८ वर्षीय प्ले मेकर हाजार्डले सम्हाल्नेछन्। रियलले हाजार्डका लागि १०० मिलियन युरो लगानी गरेको छ।
योसँगै हाजार्ड रियल मड्रिडको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन् । यसअघि रियल मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबा क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी मूल्यमा किनेको थियो। चेल्सीले युरोपा लिगको उपाधि जितेपछि रियलले हाजार्ड अनुबन्धको घोषणा गर्ने चर्चा थियो ।
तर करिब १५ दिन ढिलो गरेर बेल्जियमका यी खेलाडी सान्टियागो बेर्नाबेउ पुगेका हुन्। रियल मड्रिडले गरेको घोषणा अनुसार हाजार्डसँग करिब ५ वर्ष लामो अर्थात् सन् २०२४ जुन ३० सम्मको सम्झौता भएको छ । रियलले हाजार्डलाई १३ जुनमा सान्टियागो बेर्नाबेउमा समर्थकमाझ सार्वजनिक गर्ने भएको छ। जिनेदिन जिदान पुन: क्लबमा फर्किएपछि नयाँ खेलाडी अनुबन्ध अघि बढाएको छ । रियलले यसअघि जर्मन क्लब फ्रान्कफर्टबाट अग्रपंक्तिका लुका जोभिकलाई भित्र्याइसकेको छ।
