स्याङ्जाकाे चिसापानीका घरघरमा खानेपानीको धारा

Share:

स्याङ्जा । कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट स्याङ्जाकाे हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि सर्वसाधारणमा खुशी छाएको छ ।

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा सबैका घर घरमा खानेपानीको धारा जडान भएपछि बासिन्दाले सरसफाइदेखि करेसाबारीसम्म पानी प्रयोग गरेका छन् । हरिनाश –३ चिसापानीकी रीता गुरुङले पहिला खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताइन ।

गाउँपालिकाको रु ३२ लाख र परियोजनाकोे रु ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र बाँकी स्थानीयवासीको जनश्रमदान गरी रु एक करोड २६ लाखको लागतमा निर्माण भएको योजनामा स्थानीयवासीले ९३ दिन जनश्रमदान गरेका थिए ।

चिसापानीका २०२ घरधुरीका एक हजार १५८ जनसङ्ख्या सो पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् । गाउँभन्दा ६ किमी पर रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो । स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: