
काठमाडौं-असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवस्था विभागमा हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक यातायातमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढ्ने विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
“असार एकबाट देशभरका सबै सार्वजनिक यातायातमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने विभागले निर्णय गरेको छ,” खनालले भने, “मिटरमा चल्ने ट्याक्सीका हकमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको छ ।” विभागमा हालै बसेको ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले यस्तो निर्णय गरेको विभागले जनाएको छ ।
यस अघि सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीले माग गरेपछि विभागले ०७५ असोज ७ गते लामो दुरीको सार्वजनिक यातायातको १० प्रतिशत भाडा बढाएको थियो । विभागले असार १ बाट सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर लागु गर्ने निर्णयका साथ सार्वजनिक याताायतमा १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय हो ।
