
चितवन । चितवनमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।
जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् ।
डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए ।
डेङ्गुबाट बच्ने तरिकाः
–दिउँसो टोक्ने एडिज लामखुट्टेका कारण डेङ्गो लाग्ने भएकाले बढी सचेत हुने ।
–बस्ने ठाउँको वरिपरि पानी जम्ने भाँडाकँुडा नराख्ने ।
–सम्भव भएसम्म पूरै जिउ छोप्ने कपडा लगाउने ।
–झ्याल ढोकामा जाली हाल्नुका साथै सुत्दा झुलको प्रयोग गर्ने ।
–घर वरपर सफा राख्ने ।
–डेङ्गुको शङ्का लागेमा तुरुन्त स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम कार्य गर्ने ।
