
पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा स्थित बिपी चोक नेरकै सडक भासियो । उसो त पोखराको जमिन कुन बेला भासिने हो ? पत्तो छैन भन्ने पोखरेलीहरुको मनमा यस अवस्थाले चिसो पस्यो । चोकको बीच सडकमा शनिबार बिहान साढे ११ बजे भ्वाङ परेको हो ।

सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको हुनसक्ने अनुमान गर्दै जेसिबी नै ल्याएर प्वाल वरपर खाल्डो पारिएको छ । त्यसको अवस्था हेरेर पुर्ने तयारी गरिएको छ । अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ ।
शुक्रबार यो क्षेत्रमा ठूलो वर्षा भएको थियो । दुई वर्ष अघि पनि चिप्लेढुंगा नजिकैको गैरापाटनमा पनि जमिन भासिएको थियो । गत वर्ष जिरो किलोमिटरमा गाडी नै खाल्डोबाट आधा पसेको थियो । न्यूरोड लगायतका क्षेत्रमा पनि भ्वाङ पर्ने गरेको छ ।


तस्विरः सामाजिक सञ्जालबाट
