
बागलुङ- धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरू गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरू गरिएको अस्पतालले जनाएको छ ।
हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलको निदान आवश्यक रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. सागरकुमार राजभण्डारीले बताए ।
रोग लुकाउने तथा सरकारी अस्पतालमा उपचारका लागि नआउने हाइड्रोसिलका रोगीलाई आकर्षण गर्नका लागि सचेतना अभियान आवश्यक रहेको डा. राजभण्डारीले बताए । उनका अनुसार निजी अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया गर्दा सातदेखि १० हजार खर्च लाग्छ ।
पछिल्लो समय अञ्चल अस्पतालले प्रदान गरेको सेवासुविधाले बिरामीको मन जित्दै गएको छ । चिकित्सक अभाव खड्किरहने अस्पतालमा अहिले ९ विशेषज्ञसहित २३ चिकित्सकले सेवा प्रदान गर्दै आएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
अस्पतालको चुस्त व्यवस्थापनसँगै दैनिक ५०० को हाराहारीमा बिरामी उपचारका लागि अञ्चल अस्पतालमा आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।
