मध्यमोदीको सुरुङ निर्माणकार्य एक महिनादेखि ठप्प

Share:

पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन साढे १४ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणकार्य चार सातादेखि ठप्प छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ निर्माणकार्यमा स्थानीयवासीले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माणकार्य रोकिएको हो ।

सुरुङ निर्माणका क्रममा बम विष्फोटन गर्दा घर संरचनामा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति मागेर स्थानीयवासीले सुरुङ निर्माणकार्यमा अवरोध पु¥याउँदै आएका छन् । आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बीचमा सुरुङबाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम भएपछि जेठ १९ पछि विद्युतगृहलगायतका संरचना बनाउने काम भने भइरहेको छ ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेकाले पुनःनिर्माण तथा क्षतिपूर्तिको माग स्थानीयवासीले राख्दै आएका छन् । स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्भविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुनःमूल्याङ्कन गर्नुपर्ने वडाध्यक्ष विकास तिमिल्सिनाले बताए।

प्रभावित क्षेत्रका बासिन्दाले प्राविधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन् । पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ५०० मिटरभन्दा बढी सुरुङ निर्माणकार्य सकिएको छ ।स्थानीयवासीको पटक–पटकको अवरोधले गएको मङ्सिरपछि निर्माणकार्य अघि बढ्न सकेको छैन । रासस

कमेन्ट गर्नुहोस्
Share: