
तनहुँ । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो ।
कूल रु १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ प्रमुख कुलप्रसाद अधिकारीले जानकारी दिए । उनले परम्परागतरूपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित कृषकको मागबमोजिम हाते ट्र्याक्टर वितरण गरिएको बताए ।
उनले भने, “व्यावसायिक तथा बेमौसमी तरकारी खेतीका लागि खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि वितरण गरेका हौँ ।” उनका अनुसार सहकारी, निजी उद्यमी, फार्म र सामूहिक कृषकलाई प्राथमिकतामा राखी हातेट्र्याक्टर वितरण गरिएको छ । उनले भने, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ, कृषिमा यान्त्रिकीकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।”हाते ट्र्याक्टर पाएपछि कृषक खुशी भएका छन् ।
