
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण अघि नै जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने भनिए पनि पार्टीभित्रको विवादका कारण सो काम रोकिएको थियो । प्रधानमन्त्री ओली स्वदेश फर्किएको एक सातापछि बैठक बस्न लागेको हो ।
बैठकमा नेताहरुलाई दोहोरो भूमिका दिने वा नदिने भन्ने विषयमा छलफल गरेपछि त्यसैका आधारमा इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्ने बताइएको छ । यसअघि बसेको सचिवालय बैठकमा सोही विषयमा नेताहरुबीच फरक फरक मत आएका थिए ।
बैठकमा विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँटका विषयमा समेत छलफल हुने भएको छ । पार्टी एकताको एक वर्ष वितिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकीकरणलाई अन्तिम रुप दिन सकेको छैन ।
