सरकारी अस्पतालको अन्यौल अवस्था

Share:

अशोक विश्वकर्मा
असार ७ तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको ढोर फुलबारी शहिद अस्पताल सञ्चालनमा आएपनि औषधी, विरामी र दक्ष जनशक्तीको अभावमा अन्यौल पूर्ण अवस्थाबाट गुज्रिएको छ ।

फुलबारी सेवा केन्द्रलाई स्तर बृद्धी गरि फुलबारी सामुदायिक अस्पतालको रुपमा सञ्चालन हुदै आएको यस अस्पताल सरकारी मातहतबाट सञ्चालन हुनथालेपछि समस्या विकराल बन्न थालेको हो ।

स्थानिय समेत रहेका जर्मनी निवासी टंक पौडेलको योगदानमा विदेशी सहयोग मार्फत सञ्चालनमा आएको यस अस्पताल सञ्चालनमा समस्या भएपछि गत भाद्र २८ गते सरकारलाई हस्तान्तरण गरिएको थियो । दक्ष जनशक्तिको अभाव र सरकारको चासो कम भएकै कारण गत बैशाखमा मात्र सञ्चालनमा आएको अस्पताल अहिले जनशक्तिसँगै औषधीको समेत अभावमा गुज्रिएको छ ।

शुक्लागण्डकी नागरिक समाजका प्रतिनिधिहरुलाई अस्पतालको समस्याका बारेमा जानकारी दिदै अनमी सरिता शर्माले भएका कर्मचारीले समेत औषधी अभावमा आउने विरामीलाई उपचार गर्न नपाएको गुनासो गरिन् । “हेल्थपोष्टमा आउने ३५ प्रकारका निशुल्क औषधी बाहेक कुनै पनि औषधी अस्पतालमा छैन, औषधी नै नभएर पछि उपचार र विभिन्न क्याम्पियनहरु गर्न सकेका छैनौँ ।” अनमी शर्माले भनिन् । “स्थानीय सरकारका प्रमुख नै सञ्चालक समितिका अध्यक्ष हुने गरेर समिति बनेको छ, तर एक पटक पनि बैठक बस्न सकेको छैन ।”

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गको ब्यस्तताका कारण अस्पतालको समस्या समाधान गर्ने गरि बैठक बस्न नसकेको पाइएको छ । बैठक बसेको खण्डमा अस्पतालमा औषधी खरिद गर्ने निर्णय गर्न सकिने अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

झण्डै १ बर्षसम्म बन्द रहेको अस्पताल सरकारलाई हस्तान्तरण गरेपश्चात सञ्चालनमा आएपछि अहिले दैनिक ७/८ जना विरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । निशुल्क रुपमा हुने उपचारका लागि सामान्य समस्या सहित विरामीहरु अस्पताल पुग्ने गरेका छन् ।

तत्कालिन सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी र पछि स्थानिय तहले अस्पताल सञ्चालनका लागि करारमा नियुक्त गरेका कर्मचारी गरि हाल १२ जना अस्पतालमा कार्यरत रहेका छन् ।

कर्मचारीको आफ्नै पिडा

अस्पतालमा कार्यरत रहेका कर्मचारीहरुले सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरेपश्चात तलव नपाएको गुनासो गरेका छन् । स्थानिय तहमा बजेट नभएकै कारण आफुहरु विगत ४ महिना देखि तलव विहिन काम गर्न बाध्य रहेको ल्याव असिस्टेन्ड सुलिल श्रेष्ठ बताउँछन् । “बजेट आएपछि पाइन्छ भन्ने सुनेका छौँ, त्यसैको आशामा काम गरिरहेका छौँ” उनले भने ।

यता अनमी शर्माले तलव नपाउँदा घरबाट खर्च जुटाउनु पर्ने समस्या भएको गुनासो गरिन् । उनले अस्पतालको ब्यवस्थापन प्रक्रिया जति सक्दो छिटो टुंगिन सके समस्याहरु समाधान हुने विस्वास ब्यक्त गरिन् ।

यता तत्कालिन फुलबारी सामुदायिक अस्पतालका दुई कार्यालय सहयोगिले तलव नपाएको १० महिना विति सकेको छ । सरकारलाई कर्मचारी र उपकरण सहित अस्पताल हस्तान्तरण गरिएपछि आफुहरुले पनि सरकार मातहतबाट नै सुविधा पाउनुपर्ने भएता पनि नपाएको कार्यालय सहयोगि भुलबहादुर घर्तिले बताए ।“समस्या गहिरो बन्दै गएको छ, ०६६ साल देखि यही अस्पतालमा काम गर्दै आएको छु अहिले जागिरकै टुंगो भएन ।” घर्तिले भने, “जागिर छोड्ने कि गरिरहने अन्यौलको अवस्थामा छौँ ।”

महंगा मेसिनहरु स्टोरमा

अस्पतालमा विरामीहरुलाई भिडियो एक्सरे, एक्सरे लगायत दन्त उपचार गर्न सकिने विभिन्न उपकरणहरु रहेका छन् । तर उक्त उपकरण चलाउन सक्ने दक्ष कर्मचारी समेत नहुदाँ अहिले थन्काएर राखिएको अस्पताल स्रोतले जनाएको छ । विरामी जटिल समस्या सहित आउने गरेता पनि प्राथमिक उपचार गरेर अन्यत्र रिफर गर्नुपर्ने बाध्यता अस्पतालमा रहेको छ ।

नागरिक समाजको सान्त्वना

अस्पतालको निरिक्षण गर्न पुगेका नागरिक समाजका अध्यक्ष खेमराज खनालले विषम परिस्थितीमा पनि जनताको सेवा प्रभावकारि बनाउन कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गर्ने बताउदै आगमी आर्थिक वर्षमा कर्मचारी र अस्पतालको समस्या समाधान हुने विस्वास ब्यक्त गरे ।

अस्पताल निरिक्षणका लागि नागरिक समाजका सदस्यहरु ज्ञाननारायण भण्डारी, कृष्णराज घिमिरे, पत्रकारहरु अशोक विश्वकर्मा राजकुमार आले पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: