
तनहुँ । तनहुँको भानुभक्त प्राणी उद्यानको निर्माण कार्यले गति लिन थालेको छ । उद्यान निर्माणको क्रममा तारबार र भवन बनाउने काम पनि अघि बढेको छ ।
भानुभक्त प्राणी उद्यानका प्रमुख विरेन्द्र प्रसाद कँडेलले मुआब्जाका लागि तथ्याङ्क संकलन गर्ने कार्य समेत भइरहेको जानकारी दिए । उनका अनुसार १ सय २४ घर धुरीले मुआब्जाका लागि कागजपत्र पेश गरेका छन् ।
प्रमुख कँडेलले २ करोड ७६ लाख रुपैयाँको लागतमा तारबार गर्ने काम शुरू भएको बताए । उनका अनुसार कुल १९ किलोमिटर तारबार गर्नुपर्ने भएपनि पहिलो चरणमा करीब १४ किलोमिटर क्षेत्रमा तारबारको काम हुँदैछ ।
त्यसैगरी प्राणी उद्यानको कार्यालय भवन निर्माण कार्य समेत अगाडि बढेको छ । प्रमुख कँडेलका अनुसार १ करोड ६८ लाखको ८४ हजारको लागतमा भवन निर्माण कार्य अगाडि बढेको छ ।
त्यसैगरी प्राणी उद्यान क्षेत्रभित्र रहेका जग्गाको मुआब्जा वितरणका लागि तथ्याङ्क संकलन गर्ने कार्य समेत भइरहेको प्रमुख कँडेलले बताए । वन्यजन्तु र जैविक विविधतालाई अवलोकनका लागि ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य राखिएको प्रमुख कँडेलको भनाइ छ ।
खासगरी पर्यटकको सुविधा र आकर्षणका लागि भानुभक्त प्राणी उद्यान क्षेत्रमा केबलकार, जंगल सफारीका सडक मार्ग निर्माण गर्ने लक्ष्य राखिएको समेत प्रमुख कँडेलले जानकारी दिए ।
कुल ४ सय २५ हेक्टर क्षेत्रफल ओगटेको यो प्राणी उद्यानले भानु नगरपालिकाको वडा नं ५ र ६ तथा व्यास नगरपालिकाको ११ र १२ नम्बरको वडालाई समेटिएको छ ।
तत्कालीन वनमन्त्री शंकर भण्डारीको पहलमा वि.स. २०७३ माघ २० गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत तथा २०७४ वैशाख १८ मा राजपत्रमा प्रकाशित गरि भानुभक्त प्राणी उद्यान स्थापना गरिएको थियो ।
भानुभक्त प्राणी उद्यानको निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जिल्लावासीले जोड दिएका छन् ।
