पोखरामा बन्दको आंशिक प्रभाव, चार ठाउँमा शंकास्पद वस्तु फेला

Share:

पोखरा । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक परेको छ ।

सार्वजनिक सवारी साधान फाट्टफुट्ट चले पनि पनि निजी सवारी साधन भने केहि मात्रामा चलेका छन् । अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ । बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् । भित्रि सडकका केही किराना पसल तथा खाजाघर बाहेक अन्य पसलहरू बन्द छन् ।

यसैबीच पोखराको नयाँबजार र चाउथेमा शंकस्पद वस्तु फेला परेको छ । नयाँबजारस्थित म्युजियम नजिक, शिव मन्दिर र ओम शान्तिको भवनको बीचमा र चाउथे रचना मस्म खाजा घर नजिकै शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद वस्तुलाई सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको छ ।

यसैगरी पोखराको विरौटा लेखनाथको तालचोकमा पनि शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेको स्थान प्रहरीले नियन्त्रण लिइसकेको र शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यता, बागलुङ नगरपालिका २ श्री नगरटोलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको अवसरमा शंकास्पद बस्तु राखेको आंशका गरिएको छ ।

गएको बिहीबार दिउँसो प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी–१ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ रहेको उत्तर–दक्षिण बाटोमा पौडेलेको मृत्यु भएको थियो । प्रहरीले इन्काउन्टर गरेर मारेको भन्दैविप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि बन्द आह्वान गरेको हो । तर प्रहरीले भने दोहोरो झडपमा पौडेलको ज्यान गएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: