
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुर्व्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् ।
समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुर्व्यसनलाई रोक्नुपर्ने बताए ।
‘शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ,’ उनले भने । लागुऔषध दुर्व्यसनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
गृहमन्त्री थापाले लागुऔषध दुर्व्यसनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गरे । लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो ।
लागुऔषध दुर्व्यसनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरे ।
