
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।
कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएको छ ।
प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।
संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

