
एजेन्सी । साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिलीले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोलले मान्यता पाएन । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तीनै खेल जितेको कोलोम्बियाको त्यसअनुसार प्रदर्शन हुन सकेन ।
टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४ प्रहार गोलमा परिणत भएका थिए । कोलोम्बियाका हामेस रोड्रीग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गरे । चिलीका आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चार्ल्स अरान्गिजले पनि आफ्नो प्रहार खेर फालेनन् ।
कोलोम्बियाका लागि पाँचौ प्रहार गर्न आएका विलियम टेसिल्लोको प्रहार बाहिरिएपछि चिलिको भाग्य चम्किएको हो । एलेक्सिस सान्चेजको अन्तिम प्रहार गोलमा परिणत भएपछि चिली सेमिफाइनलमा पुग्न सफल भयो ।
यसअघि अर्जे्न्टिनाले भेनेजुएलालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने ब्राजिलले पनि अन्तिम ४ मा स्थान सुरक्षित गरिसकेको छ । अन्तिम क्वाटरफाइनलमा उरुग्वे र पेरुले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सेमीफाईनलको समीकरण पुरा हुनेछ ।
