
सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा सार्वजनिक गरिएको खेलाडीको सूचीमा प्रदीप ऐरीले टिममा पर्दा आरिफ शेख बैकल्पिक खेलाडीमा परेका छन् । यसका साथै यही टिम मलेसिया विरुद्ध दुई वटा टी–२० खेल पनि खेल्नेछ ।
सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुने प्रतियोगिताका लागि छनोट भएको टिम यस्तो रहेको छ । पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, विनाेद भण्डारी, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, अभिनाश बोहोरा, प्रदीप ऐरी छन् ।
टिममा कुशल भुर्तेल, जितेन्द्र मुखिया, आरिफ शेख र सुसान भारी वैकल्पिक खेलाडीमा परेका छन् । यता पहिलाे पटक सिनियर टिमकाे क्याम्पमा परेका अमित श्रेष्ठ र यसअघि सिनियर टिममा डेब्यू गरिसकेका सन्दीप जाेरा वैकल्पिक खेलाडीमा पनि पर्न सकेनन् ।
सिंगापुर जानु अगाडी नेपाली क्रिकेट टिम मलेसियामा दुई वटा टी–२० खेल खेल्नेछ । मलेसियाका किनरारा ओभल मैदानमा १२ र १३ तारिखमा नेपालले दुई वटा खेल खेल्ने पक्का भएको हो ।
आईसीसी विश्वकप छनोटमा नेपालले पहिलो खेल कतार विरुद्ध खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ ।
