विश्वकप :जायन्ट भारतलाई जायन्ट किलर बंगलादेशकाे चुनाैती

Share:

एजेन्सी- आईसीसी विश्वकप २०१९ अन्तर्गत मंगलवार भारत र बंगलादेश आमनेसामने हुँदैछन् । इंग्ल्याण्डको एजबेस्टन क्रिकेट मैदानमा उक्त खेल नेपाली समयअनुसार सवा तीन बजेदेखि शुरू हुनेछ ।

यसअघि भारतले आयोजक इंग्ल्याण्डसँग हार बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्न भारतलाई अब मात्र एक अंक आवश्यक पर्छ । आजको खेलमा जीत हात पारेमा भारत सेमिफाइनलमा पुग्छ । तर आज बंगलादेशसँग म्याच गुमाए भारत श्रीलंकासँग ‘गर या मर’को अवस्थामा हुनेछ ।

बंगलादेशलाई जायन्ट किलर भनिन्छ । उसले जस्तोसुकै टीमको खेल बिगार्न सक्ने ताकत राख्छ । सन् २००७ को विश्वकपमा बंगलादेशले भारतलाई हराएर समूह चरणबाटै माथि उक्लन दिएको थिएन ।

यस्तोमा भारत बंगलादेशको अहिलेको लय देखेर सतर्क रहनुपर्ने हुन्छ । अझ भारतीय टीममा ओपनर शिखर धवन पनि छैनन् र विजय शंकर पनि बाहिर छन् । त्यसैले भारतले आज बंगलादेशलाई कम आक्न भने हुँदैन ।

अब कुरा गरौं बंगलादेशको । बंगलादेशलाई यहाँसम्म पुर्‍याउन शकिब अल हसनको निकै ठूलो योगदान छ । जारी विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर बंगलादेश शकिबको दममा मात्रै चलेको भने होइन । तमीम इकबाल, महमदुल्ला, मुश्फीकुर रहीम, लिटन दास सबैले शकिबलाई साथ दिएका छन् । बलिङमा कप्तान मशरफे मुर्तजा, मुस्तफीजुर रहमानले टीमका लागि अहम भूमिका निभाउँदै आएका छन ।

यस म्याचमा बंगलादेशले जीत हात पारेमा सेमिफाइनल यात्राको आशा जीवितै हुनेछ ।भारतीय बलरहरूले आजको म्याचमा भिन्न रणनीति र ब्याकअप प्लान बनाएर मैदान पस्नुपर्ने हुन्छ । किनकी जेसन रोय, जोनी बेयरस्टोले जस्तै तमीम, शाकिब र रहीमले ब्याटिङ गर्न सक्छन् ।

शीर्षक्रमका ब्याट्स्‌म्यानहरू अन्तिमसम्म नटिक्नु नै भारतका लागि दुर्भाग्य हुन सक्छ । किनकी, जारी विश्वकपमा भारतका मध्य र अन्तिमक्रममा ब्याट्स्‌म्यानले सोचेअनुरूप प्रदर्शन गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: