
म्याग्दी – रघुगंगा गाउँपालिका–१ बेगको स्वास्थ्य चौकीलाई स्थानीयवासीले १० लाख रुपैयाँ मूल्य बराबरको ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । बेगका लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले १० लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलब्ध गराएका हुन् ।
फगामीत्रयले मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्यचौकी व्यवस्थापन समितिको नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।
लोकबहादुर र हिमबहादुर फगामीले ३ रोपनी ५ आना तथा गोपी फगामीले १ रोपनी ११ आना जग्गा उपलब्ध गराएका छन् । गोपीले उपलब्ध गराएको सडकले छोएको जग्गालाई ५ लाख रुपैयाँ र लोकबहादुर र हिमबहादुर उपलब्ध गराएकोलाई ५ लाख रुपैयाँ मूल्य कायम गरिएको छ ।
स्वास्थ्यचौकी भवन निर्माणका लागि समुदायस्तरबाट जग्गाको व्यवस्थापन गरेर प्रक्रिया शुरू गरिएको वडाध्यक्ष फगामीले बताए । हाल वडा कार्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ । साँघुरो कोठा भएको कच्ची भवनमा पर्याप्त कोठा तथा पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
