भारतीय पर्यटक बोलाउन पोखरेली पर्यटन व्यवसायी भारतमा

Share:

पोखरा । गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् । पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली ‘प्रमोशनल टुर तथा सेल्स मिसन २०१९’ का लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।

नाट्टाको टोलीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिदाइ गरे । गण्डकी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ नै पर्यटन भएकाले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको गुरुङको भनाइ थियो ।

उनले पर्यटन विकास र प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै आर्थिक वर्ष २०७६/७७ को बजेटमा पर्यटनलाई प्राथमिकता दिएको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भारतको बैङ्लोर र हैदरावाद नेपाली पर्यटन बजारका लागि उपयुक्त गन्तव्य रहेको बताए । ४२ करोड जनसङ्ख्या रहेको उक्त स्थानमा गर्मी छल्न पोखरा जाऊ भन्ने सन्देश पुर्‍याउन सके पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे ।

सन् १९६६ मा पर्यटन प्रवद्र्धनात्मकको परिकल्पनाको साथ स्थापित नाट्टाले पर्यटन प्रवद्र्धनका साथ देश–विदेशमा सन् २००८ देखि औपचारिक रुपमा प्रर्वद्धनात्मक भ्रमण गर्दै आएको छ ।

उक्त कार्यक्रममा भारतका दुई प्रमुख शहरमा २४० ट्राभल्स एजेन्टलाई निमन्त्रणा गरिएको उनको भनाइ छ । टोलीमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धकसहित १६ जना सहभागिता छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त प्रवद्र्धनात्मक भ्रमण यही असार २५ गतेसम्म हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: