महेन्द्र र चमेरे गुफाको गुरुयोजना सार्वजनिक : २२ करोड खर्च गरिने, पर्यटक आकर्षणलाई प्राथमिकता

Share:

पोखरा । नेपालकै प्रसिद्ध महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्धेश्यले निर्माण भएको गुरुयोजना सार्वजनिक गरिएको छ ।

स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा विकास गराउने उद्धेश्यले गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी गराईन।

शुक्रबार गुरुयोजना सार्वजनिकीरण तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न योजना समेटिएको गुरुयोजना सार्वजनिक गर्नुका साथै गुरुयोजना कार्यान्वयन स्वरुप प्रारम्भिक रुपमा ५० लाख रुपैयाँ विभिन्न योजनामा खर्च गर्ने घोषणा गरेको छ ।

गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

गुरुयोजनामा उल्लेख भएका कार्य सम्पन्न गर्न करिब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको र गुरुयोजना अनुसार नै कार्य थालनी गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बताए ।

गुफाको आम्दानीबाट गर्न सकिने कार्य तत्काल शुरु गरिने र ठूला योजनाका लागि प्रदेश तथा केन्द्रिय सरकारसँग पहल गरिने आचार्यले जानकारी दिए ।

यसअघि गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गुफाहरु पोखराका गौरब भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताउँदै विकासका नाममा विभेद गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

अर्का सांसद विन्दुकुमार थापाले महेन्द्र गुफाका लागि पोखरा आउनु पर्ने खालको वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले आफूले पेश गरेको योजनामा प्रदेश सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गरेका थिए।

त्यस्तै अर्का सांसद पुष्पा के.सी. भण्डारीले पर्यटकको संख्या बढाउनका लागि भएपनि गुफा क्षेत्रको व्यवस्थित विकास हुनुपर्नेमा जोड दिईन ।

पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले यस क्षेत्रको शैक्षिक र भौतिक विकासमा ठूलो योगदान दिएकाले पनि यसको व्यवस्थित विकासमा स्थानीय सरकारले चासो दिएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: