
स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
शनिवार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए । ‘२४ ज्येष्ठ नागरिकलाई एक किलो हर्लिक्स, फलफूल तथा नगद ५०० रुपैयाँ प्रदान गरेका हौं,’ कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, ‘सोही अभियानअन्तर्गत पूर्ण अपाङ्गता भएका नौ जनालाई नगद ५०० रुपैयाँ र फलफूल वितरण गरेका छौं ।’
ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाको पहिलो कर्तव्य भएको बताउँदै कार्यवाहक वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँपुस्ताले सिकाइका रूपमा लिनु आवश्यक रहेको बताए । वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक बनाउन उनीहरूमा भएको रोगको पहिचान र निदान गर्ने उद्देश्यले अभियानको रूपमा थालिएको वडा सदस्य एवं कार्यपालिका सदस्य युगमाया पङ्गेनीले बताए ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गरी उचित परामर्श प्रदान गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाका रामचन्द्र ठाकुरले बताए ।
