
अनुप पौडेल, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्व रहेको बताएका छन् । बिहीबारदेखि पोखरामा सुरु भएको ११ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
संघीयताको मर्म अनुसार खेलकुद क्षेत्रको विकास हुन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ छ । संघीयताको मर्म अनुसार खेलकुद क्षेत्रको संरचना बन्न नसकेको उनले बताए । केही नीतिगत विषयमा छिनोफानो गर्न बाँकी रहेको बताउँदै उनले खेलकुदलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री गुरुङले देशमा नै बसेर खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउनेलाई सम्मान गर्नुका साथै खेलकुदलाई व्यवसायीक बनाउन प्रदेश सरकार लाग्ने प्रतिबद्धता जनाए ।
‘अहिले मुलुक संघीयता कार्यान्वयनको चरणमा छ’ मुख्यमन्त्री गुरुङले भने, ’तर संघीयताको मर्म अनुसार खेलकुद क्षेत्रको संरचना निर्माण भएको छैन त्यसैले हामी अलमलमा छौं ।’
संघ र प्रदेश सरकारबीच संरचनात्मक समन्वय हुन नसक्दा खेलकुद क्षेत्रले गति लिन नसकेको मुख्यमन्त्री गुरुङले स्वीकारे । एक वर्षभित्र खेलकुद क्षेत्रले गति लिन नसकेको स्वीकारेका उनले अब भने अगाडि बढाउन चाहेको सुनाए । मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रदेश सरकार लागिरहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारले यसै वर्ष खेल एकेडेमी बनाउने र खेल क्षेत्रको विकासका लागि योजनाका साथ अगाडि बढ्ने जानकारी दिइन । विद्यालय तहबाटै खेल क्षेत्रको विकास गर्न प्रदेश सरकारले बजेटमा पनि प्राथमिकता दिएको उनले बताईन ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले विगतको भन्दा अहिले खेलकुद क्षेत्रमा सुधार आएको बताए । खेलकुद आर्थिक स्रोत जुटाउने माध्यम बनेको बताउँदै उनले यो क्षेत्र राम्रो स्तरमा पुगेको सुनाए ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ९ सय १३ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्टस र तौल समुह गरि ४८ स्वर्ण, ४८ रजत र ६० कास्य गरि कुल १ सय ५६ पदकमा प्रतिस्पर्धा हुनेछ ।
भोलिसम्म चल्ने प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्ने जिल्लाले यस वर्षको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हात पार्नेछ। पोखरामा आगामी वर्ष २०७७ को फागुनमा हुने ‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता’ को झण्डा भोलि झण्डोत्तलन गरिने भएको छ । पोखरा रंगशालामा भोलि अपरान्ह ४ बजे झण्डोत्तलन गरिनेछ ।
यसैगरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भई प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गरेका खेलाडी तथा प्रशिक्षकलाई पनि प्रदेश सरकारको तर्फबाट भोलि नै नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरिने भएको छ ।
File Photo
