
डेडेल्धुरा । डडेल्धुरा अस्पतालमा चिकित्सकमाथि हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।कार्यक्षेत्रमै चिकित्सकमाथि हातपात भएको भन्दै जिल्ला अस्पतालमा कार्यरत ९ जना चिकित्सकले कार्यक्षेत्र नै छाडेपछि हातपात गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काका अनुसार चिकित्सकमाथि हातपात गर्ने ३ जनामध्ये १ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पोष्टमार्टम गरिरहेका चिकिकत्समाथि रक्सी खाएर अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरिक्षक खड्काले खबरहबसँग भने, ‘घटनामा प्रत्यक्ष संलग्न भएका अन्य दुईजनालाई पनि खोजी गरिरहेका छौं, अस्पतालका मेसुलाई जानकारी गराएर घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।
सवारी दुर्घटनामा परी मृत्यु भएका एक युवालाई डडेल्धुरा अस्पतालमा पोष्टमार्टमका लागि लगेका मृतकका आफन्तले पोष्टमार्टम ढिलो भएको भन्दै चिकित्सक माथी अभद्र व्यवाहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार पोष्ट मार्टमका लागि शव लिएर जानेहरुले मदिरा सेवन गरेर चिकित्सकमाथि अभद्र व्यवहार गरेका थिए ।
कार्यक्षेत्र सुरक्षित नभएको भन्दै घटनापछि डडेल्धुराका ९ जना चिकित्सकले शुक्रबार नै जिल्ला छाडेका छन् । उनीहरु अहिले नेपाल चिकित्सक संघले उपलब्ध गराएको धनगढीस्थित होटलमा रहेका छन् । अस्पतालमा शान्तिपूर्ण तरिकाले बिरामीको स्वास्थ्य जाँच गर्ने वातावरण नभएको भन्दै उनीहरुले कार्यक्षेत्र छाडेका हुन् । अस्पताल छाडेर धनगढीमा रहेका चिकित्सकहरु प्रहरीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएर अस्पताल क्षेत्रमा सुरक्षाको प्रत्याभूति प्रदान गरेपछि मात्रै कार्यक्षेत्रमा फर्किने अडानमा छन् ।
‘हामीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको भन्ने सुनिएको छ तर एकिन छैन, किनकी पक्राउ परेको व्यक्तिलाई प्रहरीले सार्वजनिक नै गरेको छैन,’ पीडित एक चिकित्सकले खबरहबसँग भने, ‘पक्राउ परेको व्यक्तिलाई सार्वजनिक गरेर कानूनी कारबाही गरी प्रहरीले हाम्रो सुरक्षाको प्रत्याभूति गराएपछि मात्रै हामी कार्यक्षेत्रमा फर्कन्छौं ।’
