घरायसी विवादमा बुहारीले गरिन् सासूको हत्या

Share:

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देवीटारमा मंगलबार राति बुहारीले सासूको हत्या गरेकी छिन्। राति १० बजे घरायसी विवादका क्रममा २४ वर्षीया सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेकी हुन् ।

प्रहरीको अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो। सुन्तलीद्वारा ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेकी सासूसँग झगडापछि हत्या गरेकी जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इलाका प्रहरी कार्यालयकोे हिरासतमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: