
अशोक विश्वकर्मा । लमजुङ्गका चन्द्र गुरुङ्गले पोखरालाई कर्मथलो बनाएको १ दशक भन्दा लामो समय भयो । यो अवधिमा उनी रोडको जिवनलाई ब्यवस्थित गर्ने तरखरमा छन् । चञ्चले कान्छाको रुपमा आफुहरुलाई परिचित गराउन चाहाने गुरुङ्ग जन्म जात दृष्टीविहिन हुन् । फरक क्षमता भएकै कारण अन्य सवालङ्गहरुले झै संघर्षका मार्गहरु प्रशस्त नपाएको गुरुङ्गले सडकको छेउमा गित गाएर आर्थिक संकलनबाट संघर्ष सुरु गरेको बताउँछन् ।
सडकमा गित गाउँदै मादल बजाँउदा बटुवाहरुबाट माया र दयाले दिएको रकम संलकन गरेर उनी ब्यवसाय सञ्चालन गर्ने तयारीमा छन् । दिब्यशक्ति ट्रेनिङ्ग सेन्टर उनको पहलमा पोखराको बुद्ध चोकमा सञ्चालन आएको छ । विभिन्न सिपमुलक तालिम प्रदान गर्ने सोचलाई मुर्तरुप दिने उदेश्यले अघि बढेका उनले प्रेरणा भन्दा निराशा देखाउनेहरु धेरै भेटे ।
ब्यवसाय दर्ताको लागि पटक पटक महानगर धाए तर सफल हुन सकेन् । प्रत्येक पटक “तिमि जस्तो आँखा नदेख्नेले कसरी ब्यवसाय गछौँ, हुदैन जाउ” भन्ने कर्मचारीहरुको जवाफ लिएर फर्कने गुरुङ्ग अन्तत १४ औ पटकमा आवश्यक प्रक्रिया पुरा गरेर ट्रेनिङ्ग सेन्टर दर्ता गर्न सफल भए ।
पmरक क्षमताभएकै कारण उनीसँग थुप्रै तिता अनुभव र गुनासाको पोकाहरु छन् । केही दिन अगाडी विग एफएमकै कार्यालयमा आएका उनले सरकारले आफुहरु जस्ता फरक क्षमता भएकाहरुलाई बेवास्ता गरेको गुनासो गरे । “सरकार भएर के गर्नु सम्भावना भएको क्षेत्रमा सिप र अवसरको लागि कुनै पहल गर्दैन,” उनले भने “बाद्यवादनको क्षेत्रमा, कलाकारिताको क्षेत्रमा, शैक्षिक क्षेत्रमा रोजगारीको क्षेत्रमा हाम्रो सम्भावना छ तर सरकारले बेवास्ता गरेको छ ।”
गुरुङ्गले रोड शो गरेर आर्थिक संकलन गर्नु आफुहरु जस्तालाई बाध्यता भएको बताउँछन् । “रोड शो गर्नु त बाध्यता हो, अन्य क्षेत्रमा सहयोग गर्नु त परको कुरा प्रोत्साहन समेत गरिदैन ।”
सिमला चौधरीको गुनासो — पढ्न र बस चढ्न समेत मुस्किल छ
चन्द्र गुरुङ्गकी श्रीमती हुन मोरङ्गकी सिमला चौधरी उनले सरकारले दिने निर्वाह भत्ता अन्यत्तै कम भएको गुनासो गर्छिन् ।“कि पुग्ने गरेर दिए हुन्थ्यो कि नदिएर सम्भावना भएको ठाउँमा हामीलाई रोजगारको ब्यवस्था गरे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।” चौधरीले भनिन्, “त्यसै त हामीलाई चोट परेको छ, झन् सवै तिरबाट बेवास्ता हुदाँ निकै दुःख लाग्छ ।”
भेटका क्रममा चौधरीले आफ्नो एक नमिठो अनुभव सुनाइन्,—“सार्वजनिक सवारीले समेत वेवास्ता गर्दा एक ठाँउबाट अर्काे ठाउँ जान समेत समस्या हुन्छ ।”, “हामीलाई देख्यो कि रोक्दै रोक्दैन्, ट्राफिकमा समस्या सुनाउदाँ समेत सुनुवाई हुदैन ।” चौधरीले भनिन् ।
उनले आफुहरु जस्ता दृष्टी विहिनहरुको लागि अध्ययन गर्न समेत महंगो हुने गरेको बताईन् । आफुहरुले पढ्न मिल्ने सामान्य पुस्तकलाई समेत हजारौँ रुपैया खर्चेर खरिद गर्नु पर्ने भएकाले नसकिने उनी बताउँछिन् । चौधरीले विभिन्न संघ सस्थाबाट निशुल्क रुप अध्ययन गर्ने मौकामा मात्र पुस्तकको पहुँचमा पुगिने जनाइन् ।
फरक क्षमताहुनेहरुलाई सहयोग गर्दछौँ—ट्राफिक प्रमुख मिश्र
शारिरीक रुपमा अपाङ्गता भएकाहरुले आफूहरुको समस्याप्रति प्रहरी प्रशासन मुकदर्शक भएको गुनासो गरेपछि ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले प्रहरीले उनीहरुको मुद्धालाई बेवास्ता नगरेको जिकिर गरे ।
“वेवास्ता गरिएको भन्ने कुरा अलि बढी नै भयो कि ? हाम्रो काम नै उनीहरुलाई पहिलो प्राथमिकता दिने हो” मिश्रले भने, “जहाँसम्म सार्वजनिक सवारीमा यात्रा गर्दा समस्या हुने गरेको गुसानो सत्य हो, उहाँहरुलाई सहयोग गर्नेहरु नभएर पनि यो समस्या बढ्दो छ ।”
उनले सवारी साधनहरुले नरोक्ने र दुब्र्यवहार गर्ने गरेको समस्या लिएर आउने गरेता पनि कुन सवारी साधनले भन्ने प्रमाण दिन नसक्दा समस्या समाधान गर्न नसकिएको बताए । मिश्रले दृष्टी विहिन लगायत फरक क्षमता हुनेहरुलाई दुब्र्यवहार गर्नेहरुलाई अन्य ब्यक्तिले देखेर समेत बेवास्ता गरिदिदाँ समस्या न्यूनिकरण नभएको बताए ।
