
विराटनगर – विराटनगर महानगरपालिका गोग्राह चौकमा सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मंगलबार बिहान करिब पौने सात बजे कोशी राजमार्गमा इटहरीतर्फबाट विराटनगर आउँदै गरेको ज.१.च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री ५५ वर्षीय उर्मिला देवी झालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनालगत्तै विराटनगरको न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकी झाको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुका अनुसार राजविराजकी झालाई धनुषा जिल्लाको नेश्नल पोली क्लिनिक बीरेन्द्र बजारको एम्बुलेन्सले ठक्कर दिएको हो।
ठक्करपछि एम्बुलेन्सका चालक २२ वर्षीय दीपकुमार मुखियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
