
कविराज खनाल, पोखरा ।
लेखनाथ पचभैयाको अन्तराष्ट्रिय चिडियाखाना (वन्यजन्तु उद्धार केन्द्र) बाट चितुवा हराएको छ। पोखरा १६, सिप्लेकुनाको कुखुरा फर्मबाट उद्धार गरी ल्याइएको सो चितुवा चिडियाखानामा रहेको केज (खोर) बाट हराएको हो।
साउन १ गते राति डिभिजन वन कार्यालय कास्कीको सहयोगमा सो चितुवा चिडियाखानामा रहेको केजमा राखिएकोमा केही दिनपछि एक्कासी हराएको हो।
चिडियाखाना एवं वनको हेरचाह गर्दै आएका वन हेरालो प्रकाश नेपालीले चितुवालाई खाना दिनेक्रममा चितुवा नदेखेपछि वनका पदाधिकारी एवं स्थानीयलाई खबर गरेको बताए। केजभित्र खोज तलास गर्दा नभेटिएपछि चितुवा हराएको पुष्टि भएको हो।
यता, स्थानीयले वन कार्यालयको सहयोगमा हराएको चितुवाको खोजी कार्य तीव्र पारेका छन्। विगतमा पनि सो स्थानमा बाघलाई खोरमा राख्ने क्रममा सावधानी अपनाउन नसकेका कारण फुत्केर भागेको थियो।
यसबारे पचभैया सामुदायिक वनका अध्यक्ष दीननाथ ढकाल आगामी दिनमा वन्यजन्तु राख्नु पूर्व यसको प्राविधिक पक्षलाई ध्यान दिनुपर्ने बताउँछन् । डिभिजन वन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठले केज कमजोरीका कारण चितुवा जाली फोडी भागेको हुन सक्ने बताए।
