
काठमाडौं । शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार तराईका केही भूभागमा ठूलो पानी पर्ने र अन्य भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
शुक्रबार राति पनि सामान्य बदलीको सम्भावना रहेकाले पहाडी तथा तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तलतिर सर्दै गएकाले अबको केहीदिन मौसमी गतिविधि केही कमजोर हुने महाशाखाले जनाएको छ ।
शनिबार र आइतबार पनि देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । आज देशभरका नदीकोहरुको अवस्था र बाढीको पूर्वानुमानसहितको सूचना जारी गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, बाग्मती बबई लगायत नदीहरुमा बहाब स्थिर रहेको छ । कन्काई, कमला लयायतका नदीहरुमा बहाब बढ्ने क्रममा रहेको छ । पूर्वानुमान अनुसार नदीहरुमा बहाब सतर्कता तह भन्द तलनै हुनेछ ।
आज कोशी, नारायणी, कर्णाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य रुपमा बढ्दो क्रममा हुनेछ । महाकाली र यसका शाखा नदीहरुमा बहाब उल्लेख्य बढ्ने तर सर्तकता तह भन्दा तलै रहनेछ ।
यसैगरी, इलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङजा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा लगायतका आसपासका जिल्लाका चुरे र पहाडबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
