
तनहुँ – तनहुँका २६३ घरधुरी लालपुर्जाविहीन रहेको पाइएको छ । जिल्लाको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन रहेको पाइएको हो।
वर्षौंदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् ।
३५ वर्ष अघिदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन संघर्ष समितिका संयोजक नेत्र रानाभाटले बताए।
अव्यवस्थित जग्गाको समस्या समाधान नहुँदा सदरमुकाम दमौली नजिकैको सो क्षेत्रका बासिन्दा सुकुमवासीको रूपमा रहनुपरेको उनले स्पष्ट पारे।
चुनावको बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारले समस्या समाधान गर्छु भनेर मत मागे पनि विजयी भएपछि यस ठाउँलाई प्राथमिकतामा नराखेको स्थानीयवासी नन्दबहादुर थापाले गुनासो गरेका छन् ।
