
रेम बिक
पोखरा, १३ साउन । बाढीपीडितलाई सहयोग गर्ने भन्दै आर्थिक संकलनमा जुटेको एउटा फेसबुक ग्रुपको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहयोग संकलन गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरले १२ जना युवायुवतीलाई नियन्त्रणमा लिएको हो ।
प्रशासनले आर्थिक सहयोग संकलन नगर्न सूचना जारी गरेको अवस्थामा पनि बाढी पीडितको नाम लिएर पैसा उठाएको भेटेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बगरका प्रमुख दीपक थापाले बताए । प्रहरीले उनीहरुसँगबाट २ हजार १ सय रुपैयाँसमेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेका १२ जना ‘हाम्रो पोखरा’ नामक फेसबुक ग्रुपका सदस्यहरु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका १२ जना नै विद्यार्थीहरु हुन् । सहयोगी भावसहित नै आर्थिक संकलनमा जुटेको र प्रशासनको नियम आफूहरुले नजानेको कारणले यस्तो भएको उनीहरुको तर्क छ । उनीहरुले आफूहरुले जानी जानी पनि आर्थिक संकलन भने नगरेको प्रस्ट पारेका छन् ।
वडा प्रहरी कार्यालय बगरले उनीहरुलाई नियन्त्रणमै राखेको छ । जिल्ला प्रशासन कार्यालयबाट के गर्ने ? भन्ने निक्र्यौल आएपछि मात्रै कारबाही प्रकृया अगाडि बढाईने प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालयले भने उनीहरुलाई कानुनअनुसारकै कारबाही प्रकृया अगाडि बढाईने जनाएको छ । प्रशासनले बारम्बार सूचना जारी गर्दै यसो नगर्न जानकारी दिईसकेको अवस्थामा पनि सहयोग गर्ने नाममा जनतासँग जथाभावी आर्थिक संकलन गर्दा समस्या भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख चक्रबहादुर बुढाले बताए ।
पीडितका लागि आर्थिक संकलन गर्दा सो रकमको पारदर्शीता नहुने, त्यसको दुरुपयोग हुनसक्ने भन्दै सरकारले कुनै व्यक्ति वा समुहलाई आर्थिक सहयोग संकलनमा रोक लगाएको हो ।
