
पर्वत । पर्वतमा मदिरालाई व्यवस्थित गरिने भएको छ । मदिरा सेवन तथा बिक्री वितरणका कारण आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएकाले मदिरालाई व्यवस्थित गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
सर्वपक्षीय बैठकले कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म राति ९ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १४ गतेसम्म राति १० बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।
उनका अनुसार लामो दिनमा अबेरसम्म र छोटो दिनमा एक घण्टा पहिला होटल बन्द गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण नगरिने र खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण नगरिने निर्णय पनि भएको प्रजिअ नेपालले बताइन् ।
यो निर्णय सदरमुकामका साथै ग्रामीण क्षेत्रका बजार तथा पसलमा पनि लागू गर्दै लैजाने योजना छ । कुश्माबजारमा मात्रै झण्डै १०० को हाराहारीमा होटल तथा मदिरा व्यवसायी रहेका छन् ।
