नाम सापटी लिएर बनेको फिल्म ‘साइनो’ ले ईतिहास दोहोर्याउला ?

Share:

बिग न्यूज
पोखरा, १९ साउन । नेपाली फिल्म साइनोको कुरा आउने बित्तिकै सम्झिने नाम हो, डेनी डैनजोङ्पा, भुवन केसी, मुरलीधर अनि तृप्ती नाडकर । सँगसँगै निर्देशक उगेन छोपेल । अझै संगीतकार रनजीत गजमेरलाई भुल्ने हो भने त साइनो फिल्मको किस्सा अधुरै हुन्छ । कारण, साइनोमा समावेश गीतसंगीत अझै पनि नेपालीहरुको मन मनमा बसेको छ ।

साइनो फिल्म ३२ वर्ष अगाडि बनेको थियो । तत्कालिन समयमा ब्लकबस्टर हिट फिल्म साइनोको शीर्षकलाई सापटी लिएर अहिले पुनः अर्को फिल्म बनेको छ । नेपाली फिल्म ईतिहासकै पहिलो अभिनेत्री भुवन थापा चन्द प्रस्तुतकर्ता रहेर बनेको फिल्म साइनो यही साउन २४ गतेदेखि देशव्यापी रिलिज हुँदैछ ।

आईतबार पोखरामा नेपाली फिल्म साइनोको टोली प्रचारका लागि आईपुगेर पत्रकार सम्मेलनको आयोजना ग¥यो । पत्रकार सम्मेलनमा टोलीले पहिलो प्रश्नको सामना नै पुरानो साइनोसँग जोडिएको गर्नुप¥यो । ‘के त्यो बेलाको साइनोको शाख यो फिल्मले राख्छ त ?’ पत्रकारले प्रश्न तेस्र्याए ।

‘यो निकै गम्भिर कुरा हो । हामीले साइनोको शीर्षकमात्र सापटी लिएका हौँ । तर तत्कालिन समयको साइनो र अहिलेको फिल्म साइनोको कथा पुरापुर भिन्न छ । यद्यपि पुरानो साइनो फिल्मसँग हामीले आफ्नो फिल्मलाई दाँज्दा त्यति न्याय नहोला । तर हामीले यो शीर्षकको बद्नाम गर्नेछैनौँ । र, नेपालकै पहिलो नायिका भुवन थापा चन्दको गरिमालाई पनि ख्याल राखेर हामीले यो फिल्म बनाएका छौँ ।’ निर्देशक रमेश थापाले भने ।

पत्रकार सम्मेलनमा अभिनेता राजकुमार र अभिनेत्री मिरुना मगरको पनि उपस्थिती थियो । अभिनेता राजकुमारको यो डेब्यु फिल्म हो । र, उनी यो फिल्मबाट निकै आशाबादी छन् । अभिनेत्री मिरुनाको भने यो तेस्रो फिल्म हो । मिरुनाले अघिल्ला दुई फिल्मबाट सफलताको स्वाद चाखेकी छैनन् । उनका लागि यो फिल्म अग्नीपरिक्षा पनि हो । कारण, यो फिल्मबाट उनले असफलताको ह्याट्रिक गर्छिन् वा सफलताको स्वाद चाख्छिन् ?

अभिनेत्री मिरुना फिल्मलाई लिएर उत्साहित पनि छिन् । फिल्ममा उनी तामाङ समुदायको सोझी युवतीको भुमिकामा छिन् ।

यो फिल्ममा अभिनेत्री निता ढुंगानाको पनि विशेष भुमिका छ । खासगरि ब्राह्मण, नेवार र तामाङ समुदायलाई प्रतिनीधित्व गर्ने पात्रहरुबीचको त्रिकोणात्मक प्रेम नै यो फिल्मको मुल कथा हो । फिल्ममा राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठसँगै प्रस्तुतकर्ता भुवन चन्द आफैँ पनि अभिनय गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: