मोदीबेनीकाे नृृसिंह मन्दिरमा सङ्ग्रहित शालिग्राम चोर्नेलाई चार वर्ष कैद

Share:

पर्वत – पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ ।

पर्वत जिल्ला अदालतको सोमबारको फैसलाले आरोपित कशम पुनमगर, लेखबहादुर सार्की, सुम गुरुङ र अञ्जल बराइलीलाई अभियुक्त ठहर गरी जनही चार वर्ष जेल सजायसहित रु ४० हजार जरिवानाको सजाय सुनाएको हो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गएको २६ फागुनमा शालिग्राम शिलासहित नियन्त्रणमा लिएको थियो । चोरी गरिएका ३८ थान शालिग्रामसहित प्रहरीले तीन जना अभियुक्तलाई तत्काल तथा एक जनालाई सोधपुछ र अनुसन्धानका क्रममा पक्राउ गरेको थियो ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पूजा गर्ने शालिग्राम शिला कुश्मा नगरपालिका–४ छमर्केको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो ।

पर्वत जिल्ला अदालतले मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४२ अनुसार मन्दिर तथा देवदेवालयमा रहेका सामग्री चोरी गर्नेलाई कम्तिमा दुई वर्षदेखि सात वर्षसम्म कैद सजाय र २० हजार रुपैयाँभन्दा माथि जरिवाना गर्ने व्यवस्थाबमोजिम उक्त फैसला सुनाएको हो ।

विसं १८९० मा बनाइएको नृसिंह मन्दिरमा त्यति बेलादेखि नै शालिग्राम शिला राखिएको इतिहास छ । मन्दिरमा १०० ग्रामदेखि ५०० ग्रामसम्मका साना–ठूला शालिग्राम शिला राखिएको थियो । भारतका विभिन्न शहरमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: