पोउवासकाे प्रतिनिधिमण्डल अस्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल अस्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा निस्केको छ । साउन २२ गतेबाट भदौ १३ गतेसम्म हुने सो भ्रमण गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचार-प्रसार तथा अस्ट्रेलियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीहरुसँग उद्योग- व्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजीमा केन्द्रित रहने छ ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा रहेको भ्रमण दललाई संघका अध्यक्ष दामु अधिकारीले मंगलबार बिदाई गरेका हुन् । उनले भ्रमण दलको सुखद यात्राको कामना गर्दै अस्ट्रेलियाले गरेको आर्थिक उन्नतिको अवलोकन, नयाँ प्रविधिको जानकारी तथा गैरआवासीय नेपाली तथा अस्ट्रेलिया का व्यवसायीहरुलाई नेपालमा लगानीको आह्वानमा भ्रमणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । भ्रमण दलका नेता तथा संघका बरिष्ठ उपाधयक्ष नारायण कोइरालाले भ्रमण नयाँ कुरा सिक्ने र पोखरामा लगानी भित्र्याउने एवं पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने बताए ।

भ्रमण दलमा संघका वरिष्ठ उपाध्यक्ष कोइरालासहित संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति , महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे,सदस्यहरु दीनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, हर्कबहादुर अधिकारी, चिन्तामणि बास्तोला र देवेन्द्र केसीको सहभागिता रहेको छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार भ्रमण दलले अस्ट्रेलियाको सिड्नी, ब्रिस्बन मेलवर्नको भ्रमण गर्नेछ । भ्रमणको क्रममा त्यहाँ रहेका गैरआवसाीय नेपालीहरुसँग अन्तरिक्रिया, त्यहाँको औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण,गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष तथा नेपाल पर्यटन वर्ष २०२० को प्रचार, त्यहाँ रहेका नेपाली विद्यार्थीहरुसँग अन्तरक्रिया तथा त्यहाँको निजी क्षेत्रसँग सहकार्यको आह्वान गर्ने कार्यक्रम रहेको छ ।

उनका अनुसार ब्रेस्बनका खाद्य सामाग्री प्रशोधन प्रविधि तथा सेवा उद्योगको अवलोकन, मेलबर्नमा पेय पदार्थ उद्योगको अवलोकन एवं सिड्नीमा कृषि बजारको अवलोकनको कार्यक्रम तय गरिएको छ । यसका साथै गैरआवासीय नेपाली संघ अस्ट्रेलियासँग अन्तरक्रिया, विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरिने उनले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: