
पोखरा, २३ साउन । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला संयोजकसहित पोखरा महानगर संयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर संयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नोतर्फबाट उम्मेदवारी समेत घोषणा गर्नेछ ।
‘यो निकै भव्य कार्यक्रम हुनेछ । एकै दिन पार्टीको कास्की जिल्ला संयोजक, पोखरा महानगर संयोजक र उपनिर्वाचनका लागि उम्मेदवार घोषणा कार्यक्रमले पक्कै एउटा तरंग ल्याउनेछ । ‘साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले भने–‘पछिल्लो समय संगठन विस्तारलाई पार्टीले बढि जोड दिएको छ । पार्टीमा नयाँ साथीहरुको लहर पनि गज्जबको छ । पार्टीलाई सांगठनिक तरिकाले अगाडि बढाउन पनि आवश्यक छ ।’
साझा पार्टीका गण्डकी संयोजकका अनुसार जिल्ला संयोजक, महानगर संयोजक र कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सोही दिन मात्र सार्वजनिक गरिनेछ । भदौको दोस्रो साता हुने कार्यक्रममा साझा पार्टीका केन्द्रीय स्तरका सम्पूर्ण नेताहरुको सहभागिता रहने भण्डारीले बताए ।
‘यसभन्दा अगाडि तेस्रो स्थानमा आएको साझा पार्टीले अबको उपनिर्वाचनमा कस्तो उम्मेदवारलाई उठाउँछ भन्ने कुरा सबैको चासोको विषय हो । त्यसैले हामीले उम्मेदवार घोषणालाई विशेष रुपमा लिएका छौँ ।’पार्टीका गण्डकी संयोजक भण्डारीले भने–‘ साझा पार्टीको लागि यो ऐतिहासिक क्षण पनि हो । जिल्ला र महानगर संयोजकसँगै उपनिर्वाचनको उम्मेदवार घोषणाले जनतामाझ धेरै चासो उब्जाएको छ । यी सबै जिज्ञासा कार्यक्रमकै दिन मेटिनेछन् ।’
साझा पार्टी गण्डकीले यो एक वर्षको बीचमा तीन दर्जनभन्दा बढि कार्यक्रमहरुको आयोजना गरिसकेको छ । विभिन्न जिल्लामा संगठन विस्तार केन्द्रित भेला र छलफलसँगै सामाजिक अभियानसँग सम्बन्धित कार्यक्रमहरु यो वर्ष भएको पार्टीले जनाएको छ ।
यो बीचमा गण्डकी प्रदेशभित्र पर्ने जिल्लाहरुमध्ये नवलपुरमा यसअगाडि नै संयोजक घोषणा कार्यक्रम भैसकेको छ । त्यस्तै नवलपुरकै देवचुली नगरपालिकामा पनि संयोजक घोषणा कार्यक्रम भैसकेको पार्टीको गण्डकी प्रदेश शाखाले जनाएको छ । भदौको दोस्रो साता कास्की जिल्ला संयोजक घोषणा कार्यक्रममा जुटेको गण्डकी प्रदेश शाखाले लगत्तै अन्य जिल्लाहरुमा पनि सँयोजक घोषणा गर्दै जाने जनाएको छ ।
