विप्लवका कास्की जिल्ला सदस्य ‘परिवर्तन’ लाई आफ्नै पार्टीको कारबाही

Share:

पोखरा । प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नै एक नेतालाई कारबाही गरेको छ। पार्टीले कास्की जिल्ला कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही गरेको हो।

पार्टी नीतिविपरीत नेता पक्राउसहितका आरोप लगाउँदै उनलाई कारबही गरिएको हो। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै कास्की जिल्ला इन्चार्ज रुपेशले कारबाही गरिएको उल्लेख गरेका छन्।

कारबाहीमा परेका सन्तोषमाथि ‘पार्टी नीतिविपरित आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनय विनय गर्ने, आत्मसमर्पण गर्ने, नेता गिरफ्तार गराउनेजस्ता पार्टीलाई गम्भीर आँच आउने’ काम गरेको अभियोग लगाइएको छ।

उनलाई पार्टीको साधारणस सदस्य समेत नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । पार्टी कारबाहीमा परेका उनलाई केही समयअघि प्रहरीले पक्राउ गरेको थियो। पछि अदालतले उनलाई थुनमुक्त गर्न आदेश दिएको थियो।

प्रेस विज्ञप्ति::

आदरणीय सञ्चारकर्मी, पत्रकार मित्रहरु !

सर्वहारावर्गको पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेपालमा नेत्र विक्रम चन्द “विप्लव” को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको यहाँहरुलाई अवगत नै छ । क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी व्यवस्था हुने बेलासम्म यस क्रान्तिमा समाहित हुने र बर्हिगमित हुने क्रम जारी रहन्छ ।

वर्तमान परिस्थितिमा नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिमा दुईथरी प्रवृत्तिका मान्छे देखिने गरेका छन् । पहिलोथरीमा क्रान्तिकारी आन्दोलन, पार्टी र क्रान्तिमा सहभागी भएपछि त्यसको उद्देश्य, लक्ष्य, विचार र आदर्शका लागि जस्तोसुकै खतरा, जोखिम र कठिनाई पनि मोल्न तयार हुने, हिरासत र जेल बस्न तयार हुने साथै सङ्घर्ष गर्दागर्दै आफ्नो जीवन नै दिनु परे पनि नहिच्किचाउने र बलिदान गर्ने पर्दछन् भने दोस्रो थरी मान्छेहरु क्रान्तिकारीहरूमा परिवर्तन र क्रान्तिको चाहना त राख्ने, क्रान्तिमा सहभागी पनि बन्न आउने, कुरासम्ममा चर्कै पनि गर्ने, फाइदा सोहोर्न पाए सोहोर्ने, तर क्रान्तिले माग गर्ने दुःख, कष्ट, त्याग र बलिदान गर्न तयार नहुने, प्रतिक्रियावादीहरूको दबाबमा परेर बीचबाटै पुरानो समाजतिर फर्किने, जनताका वैरीसँग आत्मसमर्पण गर्ने, झुक्ने, जीवनको रक्षाका लागि लुटेराहरूसँग याचना गर्ने, प्राणको भिख माग्ने, क्रान्ति छोडेर क्रान्तिकारी योद्धाहरूलाई धोका दिने, आफ्नै सहयोद्धा र नेताहरूको सुराकीसम्म गर्न पछि नपर्ने गद्दारहरू पर्दछन् ।

त्यस्तै पुलिसको हातमा पर्दासाथ, हिरासतमा धम्कीकै भरमा वा केही यातना पाएपछि आतङ्कित हुँदै, केही विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरूलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, कमरेडहरू बसेको ठाउँ देखाउँदै हिँड्ने, नेतालाई गिरफ्तार गराउनेसम्ममा पुगेका छन् । यस्ता मान्छेले जतिसुकै धाक र गफ लगाए पनि वा पार्टीलाई छलछाम गर्न खोजे पनि यिनीहरू क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे, अस्थायी, अवसरवादी एवम् धोकेबाज मान्छेहरू हुन् । यिनलाई क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी भन्न सकिन्छ ।

अहिले आएर नेपालमा एकीकृत जनक्रान्तिको राप र ताप बढिरहेको अवस्थामा हाम्रो पार्टीभित्र क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी, क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे क्रान्तिकारीहरु आफ्नो स्वार्थ पूरा हुने अवस्था नदेखेपछि पार्टी र क्रान्तिलाई लान्छना लगाउँदै बाहिरिन थालेका छन् ।

उल्लेखित प्रवृत्तिका, पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई बदनाम गर्दै दलाल सत्ताका सामु घुँडा टेक्ने हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य एवं अन्नपूर्ण गाउँपालिका ईञ्चार्ज सन्तोष परियार “परिवर्तन”लाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको जानकारी गराउन चाहान्छौं । साथै हाम्रो पार्टीको नाममा निज व्यक्तिसँगै कुनै कामकारवाही नगर्न र नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी चाहान्छौं । अन्तमा, हामी हाम्रो पार्टीको नाममा हुनसक्ने गलत कृयाकलापप्रति सचेत रहन पनि सम्बन्धित पक्ष र सरोकारवालाहरुसँग अपिल गर्न चाहान्छौं ।

मिति : २०७६ । ०४ । २४
रुपेश
ईञ्चार्ज

कमेन्ट गर्नुहोस्
Share: