
बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका १ हजार १ सय २० घरमा विद्युत आपूर्ति बन्द भएको छ । निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजना बाँध बाढीले बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो ।
आयोजनाको उत्पादन ६ दिनदेखि बन्द भएसँगै बोहोरागाउँ, थापागाउँ, झिँवाखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, बडाचौरलगायतका ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । निरन्तर वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ ।
निसीखोलामा रहेको २० मिटरको बाँध बगाएकाले विद्युत आपूर्ति बन्द भएको आयोजनाले जनाएको छ । वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले जानकारी दिए । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ताको भनाइ छ।
आयोजनाको बाँधसँगै मुख्य प्रशारण लाईनका ८ वटा पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित कुखुरा फार्म, दुरसञ्चारका टावरहरुसमेत प्रभावित भएका छन् । मोबाइलको व्याट्री चार्ज गर्नसमेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था भएको स्थानीयको भनाइ छ।
File Photo
