
पोखरा । राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंमा हुने ‘राष्ट्रिय युवा सम्मेलन २०१९’ मा गण्डकी प्रदेशका २० जना युवा सहभागी हुने भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ गतेदेखि ३० गतेसम्म हुने सम्मेलनमा प्रदेशका २० जना युवा सहभागी हुने परिषदकी गण्डकी प्रदेश संयोजक मोनिका रानाभाटले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन्।
मनाङबाहेक अन्य १० जिल्लाका १ महिला र १ पुरुष गरि २० जना युवा सहभागी हुने भएका हुन् । मनाङका कोही पनि युवा सम्पर्कमा आउन नसकेकाले मनाङबाट प्रतिनिधित्व नहुने भएको हो ।
देशभरका २०४ जना युवा सम्मेलनमा सहभागी हुनेछन । त्यसमध्ये १५४ जना जिल्लाका प्रतिनिधि र अन्य ५० जना युवासंग सम्बन्धित विभिन्न संघसंस्था, समुदाय र वर्गका प्रतिनिधि सहभागी हुने परिषदले जनाएको छ ।
संयोजक रानाभाटले राष्ट्रिय युवा परिषद राजनीतिक हस्तक्षेप मुक्त रहेको सुनाइन् । ‘हामी राजनीतिबाट टाढा रहेकाहरु मात्र यसमा सहभागी हुन्छौं, उनले भनिन्,`कोही पनि राजनीतिमा आवद्ध भएको पाइए परिषदमा रहन नपाउने नियम छ ।’
सम्मेलनमा सहभागी युवाहरुको सल्लाह सुझावलाई समेटदै ‘काठमाडौं घोषणापत्र २०१९’ तयार गरिने भएको छ । सम्मेलनमा सहभागी भएका युवाहरुले पछि आफ्नो स्थानीय तहमा फर्किएर प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन मन्त्री वन तथा वातावरण मन्त्री र प्रदेश योजना आयोगलाई घोषणा पत्र बुझाउनेछन् ।
घोषणा पत्रले प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवामैत्री बजेट निर्माण गर्न सहज हुने आयोजकको विश्वास रहेको छ ।
